कसरी विस्थापनमा पर्दैछ नेपाल मन्दलबाट नेवार समुदाय

कसरी विस्थापनमा पर्दैछ नेपाल मन्दलबाट नेवार समुदाय


मुआव्जा दिएर घरजग्गा हडप्ने, प्रलोभनमा फसाएर घरजग्गा किन्ने, ल्याण्डपुलिङ स्याण्डपुलिङ र विकासको नाउँमा ऐतिहासिक शहरी संरचना भत्काउने - यो सबै नेवारको आदिभुमिमा मात्रै किन प्राथमिकता ?

उपत्यकाबाट ५० किलोमिटर पर गयो भने सबै असरल्ल छ, कुनै विकास छैन, त्यता लगेर विकासविदहरुको विकासे योजना लागु गर्न किन खोजिन्न? बाटो बनाउने, शहर बसाउने लगायत यावत गुलिया कुराहरुको प्रयोग त्यहाँ किन गरिदैन ?

किन कि, यी बिकासबादिहरु नेवार आदिभुमिबाट नेवारलाइ बिस्थापन गर्न चाहन्छन । नेवारहरुले ऐतिहासिक तवरमा बनाएको ठुलो शहर, मझौला शहर, र उपग्रह शहरहरुको नेटवर्क, त्यसबीचमा संरक्षण गरेको कृषियोग्य भुमि, त्यहाँ विकास गरीएको परम्परागत सिचाँइ, र ब्यापारको ब्यवस्थाहरु सबै भताभुङ्ग पारेर त्यसको अस्तित्त्व समेट नामेट पार्न चाहन्छन ।

टुरिस्टलाइ देखाउन २-४ वटा दरबार स्क्वायर बाहेक बाँकि सबै क्षेत्र आधुनिकिकरणको नाउँमा परिवर्तन गरी क्यान्सर बस्ति बनाउन चाहन्छन । खेतियोग्य जग्गाहरु सबै कंकृटजंगल बनाउन चाहन्छन ।

थोरै पैसाको लोभमा जो जसले यी परिवर्तनलाइ सघाइरहेका छन्, जो जसले यी परिवर्तनहरु आत्मसात गरी रमाइरहेका छन, तिनीहरु सबै पछुताउने छन । मेरै जीवनकालमा पछुताएर बसेका सयौजनालाइ देखिसकेको छु । आफन्त, साथीभाइ, टोलछिमेकमा थुप्रै उदाहरण छन् जो २ दशक अघिमात्रै आफ्नै घरआँगनमा १२ इञ्च देखि १८ इञ्च बाक्लो धानको बिस्कुन सुकाउँथे, जो दशैताका लहलह झुलेको धानबारी हेर्दै मुस्कुराउँथे । तर आज बजारिया चामल नकिने छाक टर्दैन । पैसा भएर पनि पालिस गरेको, विषाधि छरेको बेस्वादिलो चामलबाट मुक्ति पाउन नसक्ने अवस्थामा जाकिएको छ, किन कि नगर्नु पर्ने गलति गरेका‌ छन । पछुतो त तिनलाई लाग्छ नि । तर समय बितेपछि पछुताएर बस्दैमा के हुन्छ र?

साम दाम दण्ड भेद - यो रावणकालिन सुत्र विपक्षिमाथि प्रहार गर्ने अचुक अस्त्र हो रे । हेर्नोस यसको प्रयोग कसरी कसले कसको बिरुद्ध गरेको रहेछ?

१ साम - शुरु शुरुमा आप्रवासीहरुले चाकडि गरे, रैथानेका मन जिते, शासकका प्रिय बने र सयौ हजारौ रोपनि बिर्ता र दानको नाउँमा रैथानेको भुमि बेदखल गरीलिए ।

२ दाम - त्यसपछि जग्गा दलालको सिण्डिकेट चलाए । पैसाको लोभ देखाए । धनि देखिने होडबाजिले समाजलाइ धमिराले खाए झै भसक्क पार्दै 'दाम'को चर्तिकला बढाए । पैसाको चंगुलमा रैथानेहरुले धमाधम जग्गा बेचे, अहिलेको भाउभन्दा निकै सस्तो, १०० गुणा देखि १००० गुणासम्म सस्तो हुँदा पनि बेचे । किन कि तिनीहरुलाइ जानकारी नै थिएन कि त्यो जग्गाको भाउ ३० वर्षपछि १००० गुणा महँगो हुन सक्छ भनेर । दामको तुजुक देखाउन परम्परागत गुथिमातहत संरक्षित भूमि पनि रैकरमा परिणत गर्न मिल्ने कानून ल्याएर गुथियारको निजि सम्पत्तिमा परिणत गराए र मास्न उस्काए । आफ्नो पौरखले २-दाम कमाइ गर्न नसक्ने हुत्तिहारा अबुझहरुले दामको लोभमा बाउबाजेको श्रीसम्पत्ति मासेर दामको तुजुक देखाए, मोटरसाइकल, कार चढे, भव्य भोजभतेर गरे । त्यो दामको तुजुकपछाडि लालपुर्जा फुत्रुक फुत्रुक भएर झरेको कुरामा आँखा चिम्लिए ।

३ दण्ड - त्यतिले पनि विस्थापन नभएकाहरु लक्षित गर्दै डोजर आतंक चलाइदैछ । नयाँ नयाँ अव्यवहारीक नियम तेर्साइदैछ । बिगतका नियमहरु हठात परिवर्तन गरीदैछ । एक परिवारको एक घरमा पुलिसको हुल लगेर एक्कासि डोजरले दुइ दनक दिएपछि त्यो परिवारको आगामि १० वर्ष डाँवाडोल हुनेछ । यस्तो खालको दण्डले बाँकि समाजमा समेत आतंक फैलाउछ र प्रभावितहरु सबैको वृत्तिविकास ध्वस्त हुन्छ । हेर्दा २ घर भत्कायो भन्ने जसो देखिए पनि यसको असर ब्यापक छ । दण्ड र दण्डको आतंकले आजको दिन रैथाने वस्तिहरु आक्रान्त छ । आस र त्रासको माहौल श्रृजना गरी विवाद र बिभाजन ल्याउने र बिस्थापित हुन नमान्नेहरुलाइ घोर दण्ड दिन आप्रवासी नियन्त्रित सरकार र सत्ता लागी परेको छ ।

४ भेद - राजनीतिक अस्थीरता, भ्रष्टाचार, अव्यवस्थिक र जथाभावि विकास भित्राएर, प्रश्रय दिएर वातावरण प्रदुषण, खाद्यान्न अभाव, र दैनिक जीवन धान्न जहाँ पनि सम्झौता गर्न बाध्य हुने स्थीति बनाएको छ । जसको कारण आगामि २५ वर्षभित्र कति ठूलो संख्यामा त्यहाँको वासिन्दाहरु असाध्य रोगले थलिने हुन कसैले अनुमान गर्न सकेका छैनन । अहिले नै पनि उमेरले ४०-४५ कटेका ८० प्रतिशत मानिसहरु दैनिक औषधि खानु पर्ने अवस्थामा पुगिसकेका छन । अन्तहीन धुलो धुँवा, अस्वस्थ खाना, जीवन धान्नकै लागि जताततै लतारीनु पर्ने तनावपूर्ण जीवन, र देखावटी सुखको भित्री पीडाले लगभग शतप्रतिशत रैथाने आक्रान्त भइसकेको छ । यो रोगले आप्रवासीलाइ पनि छाड्दैन, तर आप्रवासी जनता र सत्ता 'कर्मको फल भोग्नु पर्ने' बुद्धबचन शायद बिर्सेर बसेको छ । जे होस, रोग भित्राएरै जनतालाइ फाँसि दिन लागेको कुरा पत्तो पाए पो !!!!!

बेलामा बुद्धि नपुगेसिन, क्यार्छौ त नि? भन्न बाहेक के सकिन्छ र?


रोशन श्रेष्ठ

Post a Comment

أحدث أقدم