ह्योल्मो स्यार छेच्यु कार्यक्रम
बौद्ध परम्पराको उत्तरोत्तर प्रगति एवं महामानवहरुको दीर्घायुको कामना सहित सम्पूर्ण प्राणी जगतको रक्षा, मानव कल्याण तथा विश्व शान्तिका लागि ह्योल्मो समाज सेवा केन्द्र एवं ह्योल्मो जाब्साङ देक्षेन होसाल छ्योलिङ गुम्बा अन्तर्गत ह्योल्मो स्यार छेच्यु व्यवस्थापन उपसमितिद्वारा वार्षिक रुपमा आयोजना गर्ने ह्योल्मो स्यार छेच्यु कार्यक्रममा क्रममा माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडज्यूको प्रमुख आतिथ्य तथा श्रद्धेय धर्मगुरु क्याब्जे चिप्री लोपेन टुल्कु रिन्पोछेज्यूको विशेष उपस्थितिमा सङक क्षेलिङ गुम्बा, भ्रावल र श्याङबा न्युङ्ने गुम्बा, भ्रावलका ज्याङतेर ह्येन्देन ग्यीपा लामाद्वारा लामा नृत्य (बाछम), छोक फुल तथा रिन्पोछेबाट छेवाङ (आयु अभिषेक) प्रदान गर्ने कार्यक्रम रहेको छ ।
ह्योल्मो जाति
ह्योल्मो आदिबासी जनजातिहरु एउटा छुट्टै बिशिष्ट पहिचान भएको र सानै क्षेत्र भएको भएता पनि नेपाल अधिराज्य भित्रको ह्योल्मो (हाल हेलम्बु भनेर चिनिने) क्षेत्रमा भूमिपुत्रको रुपमा अभिच्छिन्न रुपमा बसोबास गर्दै आएको आदिबासी जनजाति हो । ह्योल्मो आदिबासी जनजातिहरुले आफ्नो छुट्टै बिशिष्ट भाषा, संस्कृति, भेषभुषा तथा परम्परा रहेको छ ।
परिचय ः
ईसाको ११ औं शतब्दी ताका नेपालको रसुवा, नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लाका लाङ्गटाङ्ग हिम–श्रृङ्खलाका हिमाली उपत्यकाहरुमा ह्योल्मो सभ्यताको विकास भएको थियो । बौद्घ धर्म सम्प्रदायका समुदाय रहेका ह्योल्मो जातीको ऐतिहासीक पृष्ठभूमीको अध्ययन गर्दा यस ठाउँको “ह्योल्मो” नामाकरण यहाँको भौगोलिक स्वरुपता तथा यस क्षेत्रको मुख्य संरक्षक देवीको नामको आधारबाट राखिएको तथ्य फेला पार्दछ । “ह्योल्मो” शब्द स्थानिय भाषा अनुसार ह्योल् र मो मिलि बनको छ । जस अनुरुप ह्योल् को अर्थ भिरालो हुँदै बगेर गएको भूमी र मो को अर्थ शक्ति सम्पन्न संरक्षक देवीको रुपमा बुझिन्छ । अर्थात, भिरालो हुँदै बगेर गएको पवित्र हिमाली भुमीको संरक्षकको रुपमा करुणामयी आमा ज्योमो याङ्री देवी विराजमान रहनु भएकोले उहाँको सम्मान साथ यस क्षेत्रको “ह्योल्मो” नामारण भएको देखिन्छ । यस क्षेत्रलाई हिमाली श्रृङ्खलाको पवित्र उपत्यका “ह्योल्मो गङ्ग्रा” को रुपमा पनि विविध धर्म ग्रन्थहरुमा नामाकरण भएको पाईन्छ ।
बौद्घ धर्मका एक प्रमुख देव तथा ङिङ्मा सम्प्रदयका प्रवद्र्घक महागुरु गुरु रिम्पोचेले यहाँका हिमाली गुफाहरुमा ध्यान, तपस्या गर्नुका साथै भविष्यका निम्ति भनेर आफ्ना धार्मिक महत्वका महत्वपुर्ण पवित्र पुस्तकहरुका साथै अमूल्य निधी(तेर) हरु ह्योल्मो क्षेत्रमा लुकाएर राखेको कुराहरु पवित्र बौद्घ धार्मिक पुस्तकहरुमा उल्लेख गरिएको पाईन्छन । उहाँ द्घारा आशीवार्द प्राप्त ह्योल्मो क्षेत्रलाई अमूल्य निधीहरु लुकाइएको पवित्र भुमीको रुपमा बेय्हुल ह्योल्मो रुपमा पनि सम्पूर्ण बौद्घ मार्गीहरु माझ चर्चित छ ।
ह्योल्मो समाज सेवा केन्द
ह्योल्मो समाज सेवा केन्द्र आदिबासी ह्योल्मो जनजातिको धार्मिक, साँस्कृतिक तथा सामाजिक विकासको निम्ति कार्य गर्न स्थापना भएको एक गैर सरकारी सँस्था हो । यस सँस्थाबाट आदिबासी ह्योल्मो जनजातिको विकासको निम्ति कार्यहरुको साथै बौद्ध धर्मसंग सम्बन्धित विभिन्न पुजा पाठहरु केन्द्रद्धारा सञ्चालित “ह्योल्मो जब्साङ्ग देक्षेन होशाल छ्योलिङ्ग” गुम्वा नियमित रुपमा हुँदै आएको छ । यस केन्द्र ह्योल्मोहरुको एक चिनारी, इतिहास र भविष्यको केन्द्र विन्दु हुने भएकोले हामी ह्योल्मोहरुले यसलाई जोगाई राख्न, क्रियाशिल बनाउन र उत्कृष्ट स्थापना गर्न, सधैं–सधैं तत्पर रहनुपर्ने हाम्रो कर्तव्य र दायित्व हुन आउछ ।
ह्योल्मो जातिको छेच्यू पूजा
गुरु रिम्पोछेको जन्मदिनको धार्मिक पुण्य तिथीको अवशर पारेर मनाईने छेच्यु पर्व ह्योल्मो समुदायहरुले वर्षेनी आफ्ना मुख्य धार्मिक पर्वको रुपमा मनाउने गर्दछन् । छेच्यु पुजा चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व संगै विभिन्न गाउँहरुमा पञ्चमी देखि पूर्णिमा सम्मा मनाउछन्, भने काठमाडौमा बसोबस गरी बस्ने हेलम्बु बासी भने त्यसकोे एक महिना पछि शुक्ल पक्षको दशमी दिन ह्योल्मो समाज सेवा केन्द्रमा वार्षिक रुपमा आयोजना गर्दै आएको छ । छेच्युको शुरुवातमा धार्मिक महत्वका पवित्र पुस्तकहरु (ह्युम) को १६थान पुस्तकहरु पाँच दिन सम्म पाठ वाचन गरी सकेपछि मनाउने चलन छ । ह्योल्मोका कतिपय गाउँहरुमा अझै पनि केही महिना अघि देखी नै ह्युम पाठ पढ्ने चलन पाईन्छ । ह्युम पाठ पढिसकेपछि भने छेच्युको तयारी सँगै यो पर्व मनाउने गर्दछन् ।
यो धार्मि पुजा पौराणिक बौद्ध धर्मग्रन्थ अनुसार महान गुरु रिन्पोछेद्वारा स्थापना गरी तान्त्रिक नृत्यको माध्यमबाट राक्षस माथि प्रतीकात्मक विजय प्राप्त विशेष उत्सव स्वरुप यस पर्व वार्षिक रुपमा आयोजना गर्दै आएको हो । छेच्युको विशेषता रुद्रहरुलाई बज्रयाना तांत्रिक अभ्यास मार्फत बसमा लिई उनीहरुलाई बुद्धको वचन मार्फत आशीर्वाद प्रदान गरी नकारात्मक कर्म शुद्ध पार्ने अनि मुक्ति दिलाउने महत्वपूर्ण एवं महान उपलब्धिको क्षणको हो ।
कार्यक्रमको सुरुवात स्थानीय देवी देवताहरुलाई प्रकृतिको पुजा “साङ” गरिन्छ, जसबाट नकारात्मक कर्म तथा शक्तिको निर्मुल पारी तथा नयाँ सकरात्मक ऊर्जा थप्ने विश्वास गरिन्छ । तीन दिन सम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाईने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछृको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पुजा गर्दै नाच्ने गर्दछन्, जसलाई बाछ्याम भनिन्छ । धार्मिक नाचको लागि भने लामाहरु आफ्नो ज्ञान अनुसारको (नम्सा) पोशाक लगाएर मात्र सहभागी गराईन्छ, यसको लाागि बौद्धिक ज्ञान मात्र नभै आध्यात्मिक ज्ञानको पनि आवश्यक हुन्छ । यो साधारण मनोरञ्जन को रुपमा मात्र नभई यो पवित्र पुजामा भाग लिए बापत विशिष्ट आशीर्वाद प्राप्त गर्ने शुभ अवसर पनि हो ।
पुजा पाठ तथा धार्मिक नाँचको अलाव छेच्युका गीतको पनि छुट्टै विशिष्टता रहेको छ, जुन अर्को उत्सवमा गाईने गीत भन्दा पृथक हुन्छ, छेच्यूको प्रारम्भमा लामा क्ष्याम वा बाक्ष्यामसंग संग सगै गाउनु पर्छ जसलाई थेन्ज्याम भनिन्छ । यो गीत जो जो स्यारा डेन्जोङ ङिमा गर्दे लामो स्वरमा बिस्तारै गाउने गीत हो, सुरुको थेन्ज्याम सकिने बित्तिकै लामालाई गीतकै बोलीमा आसन ग्रहण गराइ सगुन चढाइन्छ जसलाई तेच्या वा तेरे गीत भनिन्छ । एक आपास हात समाती नाँच्दै गाउने ‘गोमा फेमा फेस्यो ह्ये, साब्सी थाङला ल्हेमो च्यी, एको पेको’ गीतहरु गाउने गरिन्छ ।
पाँच दिन सम्म चल्ने यो पुजाको अन्तिम दिन छेवाङ अभिषेक तथा आध्यात्मिक अमृत जल वितरण गरी वर्ष भरी सुख, शान्ति तथा सम्बृद्धिको कामना गरिन्छ । छेच्युमा नयाँ वर्षको हर्ष बढाइँने समारोह मात्र नभइ रोग व्याधि आदि निर्मूल परी सुख शान्ति छाउने प्रतीकको रुपमा लिइन्छ । यसका लागि जातीय साँस्कृतिक सम्पदाको संरक्षण र विकास गर्नु ज्यादै महत्वपूर्ण हुने भएकोले यसलाई निरन्तरताका दिँदै आएकोछ । छेच्यु पुजा पवित्र समारोह तथा सार्वजनिक चाड हो जुन हेलम्बु एकाध गाउँ मात्र नभै छिमेकी गाउँले, इष्ट मित्रहरुलाई नव वर्षको शुभकामना अदान प्रदान गर्ने शुभअवसर पनि हो ।

إرسال تعليق