उपत्यकामा पानीको संकट २ सय २० स्थानमा ट्याङ्की राखिने
थिमि टाइम्स संवाददाता
काठमाडौं, २२ फागुन – सुक्खा मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा खानेपानीको समस्या पनि देखिएको छ जसको निराकरणको लागि सरकारले ट्याङ्करबाट आपूर्ति गर्ने व्यवस्था मिलाउने भएको छ ।
काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले चाँडै नै यस्तो सुविधा प्रदान गर्न लागेको हो ।
काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा खानेपानीको समस्या बढी भएका विभिन्न २ सय २० स्थानको पहिचान गरि पानीको वितरण गर्न ट्याङ्की राख्न लागिएको हो ।
ट्याङ्कीमा पाइप फिट गरेर पनि उपभोक्तालाई पानी वितरणको व्यवस्था मिलाइने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । विभिन्न २१ वटा ट्याङ्करले ती ट्याङ्कीमा पानी आपूर्ति गर्नेछन् ।
पानीको आपूर्ति कम हुने स्थानका उपभोक्ता यसबाट लाभान्वित हुने मन्त्रालयको विश्वास छ । केयुकेएल ट्याङ्कर शाखामा सम्पर्क गरेर यस्तो सुविधा लिन सक्ने मन्त्रालयले जनाएको छ ।
‘यस्तो व्यवस्थापन भइरहेको छ, उपत्यकावासीले चाँडै नै यो सुविधा पाउनेछन्,’ मन्त्रालयका सचिव भीम उपाध्यायले भने, ‘खानेपानीको अभाव न्यूनीकरणमा यसले सहयोग पु–याउनेछ ।’
हाल काठमाडौं उपत्यकामा पानीको दैनिक माग करीब ३७ करोड लिटर छ । तर केयुकेएलले मागको करीब १५ प्रतिशत मात्र आपूर्ति गर्छ ।
उपत्यकामा पानी चुहावट कम गर्न कार्ययोजना बन्दै
यसैगरी काठमाडौं उपत्यकामा खानेपानीको चुहावट कम गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले कार्ययोजना तयार गर्न लागेको छ । चुहावटलाई १५ प्रतिशतभन्दा कममा सीमित राख्न यस्तो कार्ययोजना बनिरहेको मन्त्रालयका सचिव उपाध्यायले बताए ।
करीब २० वर्षअघि जापानिज इन्टरनेसनल कर्पोरेसन एजेन्सी ९जाइका०ले गरेको अध्ययनले काठमाडौं उपत्यकामा कुल वितरित पानीको ४० प्रतिशत चुहावटमा सकिने गरेको देखाएको थियो ।
‘मेलम्ची आएपछि नयाँ तथा पुरानो पाइपबाट वितरण हुने पानीमध्ये कति चुहावटमा सकिन्छ र चुहावट नियन्त्रण गर्न के–के उपाय अवलम्बन गर्नुपर्छ भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय विज्ञ टोलीबाट अध्ययन गराई कार्ययोजना र प्रोजेक्ट तयार गर्ने कामको शुरुवात गर्न लागिएको छ,’ सचिव उपाध्यायले थपे ।
खानेपानी वितरणको अनुगमन चुस्त बनाइने
यस्तै मन्त्रालयले खानेपानी वितरणको अनुगमनलाई पनि तीव्रता दिने जनाएको छ ।
अनुगमनलाई प्रभावकारी बनाउन सवारीको व्यवस्था गरिएको मन्त्रालयले बताएको छ । ‘खानेपानीको सम्बन्धमा गुनासो तत्काल समाधान गर्ने कार्यमा पहल भइसकेको छ,’ सचिव उपाध्यायले भने ।

إرسال تعليق