बैशाख ३१ को चुनाव सार्नेबारे बहस

काठमाडौं । बैशाख ३१ मा हुने भनिएको पहिलो चरणको स्थानीय तह निर्वाचन हुन अब १६ दिन मात्रै बाँकी छ । तर, राजनीतिक दलहरु भने अझै पनि चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने बहसमै अल्झिएका छन् । शुक्रबार बालुवाटारमा यस्तै छलफल भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा धेरै दलहरु जेठ ३१ मा एकै चरणमा चुनाव गर्ने पक्षमा उभिएका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनावपछि मतगणना तत्काल गर्ने कि दुबै चरणको चुनावपछि गर्ने र बजेट के गर्ने भन्ने राय मागेका थिए ।
तर, धेरै दलहरुले एकै चरणमा चुनाव गर्न र त्यसपछि बजेट ल्याउन सुझाव दिएका छन् । एकै चरणमा चुनाव गर्दा मतगणना कहिले गर्ने भन्ने बहस नै गर्नु नपर्ने उनीहरुको धारणा थियो ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले पनि बालुवाटार बैठकमा जेठ ३१ मा एकै चरणमा चुनाव गर्नुपर्ने राय आएको बताए ।
बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले दुई चरणमा चुनाव गर्दा मतपेटिकाको सुरक्षा कसरी गर्ने भन्ने प्रश्न रहेको बताएका थिए ।
सरकारले सुरुमा बैशाख ३१ गते देशभर एकै चरणमा स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो पटक मधेसी मोर्चासँग दुई चरणमा चुनाव गर्ने सहमति गर्दै प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ मा बाँकी चारवटा प्रदेशमा जेठ ३१ मा चुनाव गर्ने निर्णय गरेको छ ।
प्रमुख विपक्षी नेकपा एमालेले पनि एकै चरणमा चुनाव गर्नुपर्ने मत राख्दै आएको छ । सकेसम्म बैशाख ३१ मै गर्नुपर्ने र दुई चरणमै चुनाव गर्नुपर्ने भए जेठ १५ अगाबै हुनु पर्ने एमालेको औपचारिक निर्णय छ ।
जेठ ३१ मा एकै चरणमा चुनाव गर्ने दलहरुको रायबारे सोधिएको प्रश्नमा एमाले प्रमुख सचेतक ढकालले भने, हामी एकै चरणको चुनावकै पक्षमा छौं ।’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि एकै चरणमा चुनाव गर्नुपर्ने मत राखेका छन् । मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु पनि जेठ ३१ मा एकै चरणमा गर्ने पक्षमा छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै के गर्ने भनेर दलहरुसँग राय मागेका छन् ।
विपक्षी एमालेले दुई चरणको चुनावको बीचमा बजेट ल्याउने प्रस्ताव स्वीकार्य नहुने बताएको छ । बैठकमा नेताहरुले दुई चुनावको वीचमा बजेट ल्याउन नहुने धारणा राखेका छन् । धेरैले जेठ ३१ मा एकै चरणमा चुनाव गर्न र त्यसपछि बजेट ल्याउन सुझाव दिए ।
फोरम लोकतान्त्रिकका नेता चौधरीले अनलाइनखबरसँग भने, ‘मैले नै जेठ १५ मा ल्याउँदा बजेटलाई उपयोग गरेर अनुकुल परिणाम ल्याउनुहुन्छ भन्ने सबै पार्टीबाट आयो । असार पहिलो साता लैजानुस् भनेर सुझाव दिएँ ।’
प्रधानमन्त्री प्रचण्डले पनि यो सुझाव मननीय भएको भन्दै बाधा अड्काउ फुकाउ गरेर असार पहिलो सातामा बजेट ल्याउँदा ठीकै हुने बताएका छन् ।

Post a Comment

أحدث أقدم