काठमाडौं १९ बैशाख । पहिलो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । यसका लागि दलहरु धमाधम उम्मेद्वारहरुको टुंगो लगाउने कसरतमा जुटेका छन् ।
पहिलो चरणको चुनावमा देशका चारवटा महानगरपालिकामा समेत चुनाव हुने भएकाले यो निर्वाचनको रौनक बढेको छ । बैशाख ३१ गते काठमाडौं, ललितपुर, भरतपुर र पोखरासमेत देशका चारैवटा महानगरपालिकामा निर्वाचन हुनेछ ।
पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा निर्वाचन हुँदैछ । प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।
त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।
भक्तपुरमा स्थानीय तहको मनोनयन दर्ता सुरु
उपत्यकाका तीनवटै जिल्लामा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने निर्वाचनमा उपत्यकाका सबे नगरपालिकामा मनोनयन दर्ता शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
भक्तपुरका ४ वटै नगरपालिकामा मनोनयन मंगलबार विहान १० बजेदेखि नै शुरु भएको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् ।
संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास निर्वाचन आयोगले लिएको छ ।

إرسال تعليق