अमेरिकामा नेपाल सम्वन्धी महोत्सव
गत शनिवार संयुक्त राज्य अमेरिका वाशिङ्गटन राज्यमा नेपाल सम्वन्धी महोत्सव ‘कल्चर शेयर नेपाल’ भव्यताका साथ सम्पन्न भएको छ । सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ वाशिङ्गटन राज्यको शोरलाइन नगरपालिका र युथ फर कल्चर प्रमोशनको संयुक्त आयोजनामा महोत्सवआयोजना गरिएको थियो ।
सम्पूर्ण रुपमा नेपालको संस्कृतिलाई मात्र समेटेर आयोजना गरिएको यस महोत्सव अमेरिकाको नगर स्तरबाट आयोजित प्रथम कार्यक्रम हो ।
वाशिङ्गटनको शोरलाइन टाउनहलमा उक्त महोत्सवमा मुर्चुङ्गा, सहनाइ, ट्याम्को, धिमय्, नाय्खिं, पश्चिमा, दाफा खिं लगायत नेपालका विभिन्न पच्चीस थरी लोकबाजाहरुको प्रदर्शनी उल्लेखनीय रहेको थियो ।
यस बाहेक नेपालका विभिन्न हस्तकला, कलाकृति र दैनिक उपयोगका सामग्रीको प्रदर्शनीले पनि अतिथिहरुको ध्यान आकर्षण गर्न सफल भएको थियो ।
महोत्सवमा पहिलो चरणको कार्यक्रममा अतिथिहरुले विभिन्न नेपाली परिकारहरुको रस्वादन गरेका थिए । दोश्रो चरणको कार्यक्रममा महोत्सवका संयोजक र युथ फर कल्चर प्रमोशनका संस्थापक सुभाषराम प्रजापतिले नेपालको इतिहास, भौगोलिक र सांस्कृतिक पक्षबारे जानकारी प्रस्तुत गरेका थिए । यसपछि भएको सांस्कृतिक प्रस्तुतिमा कलाकारहरु सुभाषराम प्रजापति, एन्जेलिन ग्यूएन, केनीथ म्यान्डेल, रविन प्रजापति, चेतना शाक्य र प्रेमकुमार प्रजापतिले धिमय् र पञ्चैबाजा लगायत नेपालका विभिन्न भेगका सांगीतिक धून र वाद्यवादन प्रस्तुत गरेका थिए भने सोममाया सुब्बाले नेपाली लोकनृत्य प्रस्तुत गरेकी थिइन् ।
यसका साथै नेपालीबाजा र लोकनृत्यको कार्यशालामा दर्शकहरु अत्यन्तै उत्सुकता पूर्वक सहभागी भएका थिए । महोत्सवमा अतिथिहरुलाई नेपालीबाजा अन्तर्गत मादलवादन प्रशिक्षणका साथै घिन्ताङ घिसि प्याखं (नाच) र नेपाली सामूहिक नृत्यको प्रशिक्षण र सामुहिक सहभागीता मूलक प्रस्तुति रहेको थियो ।

Post a Comment