प्रदुषण बिरुद्ध उजुरी

 नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र रहेका कलकारखानाहरुबाट दैनिक रुपमा निस्कने गरेको अत्यधिक धुँवा र ध्वनीका कारण बातवरण प्रदुषण बढेको भन्दै सम्बन्धित निकायमा रोकथामका लागि उजुरी गरिएको छ ।
     औद्योगिक क्षेत्र वरीपरि सडक बाटोमा हिँड्ने यात्रुहरु, सो नजिकै रहेका विद्यालय, क्याम्पस, अस्पताल, होटेल रेष्टुरेन्ट, व्यापारिक प्रतिष्ठानहरुमा र समग्र नेपालगन्ज बजार क्षेत्रमा समेत वातावरण प्रदुषणले प्रत्यक्ष असर पारेको उल्लेख गर्दै सम्बन्धित निकायमा उजुरी गरिएको हो ।
     अधिबक्ताद्धए लोक बहादुर शाह, पवन गुप्ता, बासका अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाहले आज संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँके र नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
 नेपालगंज औद्योगिक क्षेत्र भित्र रहेका ३६ वटा कम्पनीहरु मध्ये ३१ वटा उद्योगहरु संचालनमा, ३ वटा उद्योग बन्द अवस्थामा र २ वटा उद्योग निर्माणाधिन अवस्थामा रहेको औद्योगिक क्षेत्र भित्रबाट खाद्य वस्तु उत्पादन, प्लाष्टिकका सामानहरु उत्पादन, इन्जिनियरिङ्ग उद्योग, काँस पित्तल मेटल समेतका भाँडा वर्तन उत्पादन, रंगरोगन उत्पादन, फर्निचरजन्य सामानको उत्पादन, स्यानीटेरी सामान निर्माण, विद्युतिय सामानहरु तथा उपकरकण उत्पादन र मर्मत समेतको कार्यहरु हुने गरेको छ ।
 नेपालगंज औद्योगिक क्षेत्र भित्र रहेका उद्योगहरुबाट निस्कने धुँवा, धुलो र फोहोरजन्य पदार्थको रोकथामको लागि नेपालगंज औद्योगिक व्यवस्थापन कार्यालयले कुनै पनि उचित व्यवस्थापन र प्रबन्ध नगराएको भन्दै निबेदकहरुले नगर क्षेत्र भित्रको वातावरण प्रदुषण र ध्वनी प्रदुषणको रोकथाम गर्ने, नागरिकहरुको जनस्वास्थ्यको संरक्षण र सम्बद्र्धन गर्नु पर्ने जिम्मेवारी पाएका स्थानीय निकायबाट समेत रोकथामको लागि आवश्यक पहल नभएको हुनाले सार्वजनिक सरोकारको विषयमा उजुरी गर्नुपरेको उल्लेख गरेका छन् । 
निबेदकहरुले नेपालगंज औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरी सो अन्तर्गतका उद्योगहरुबाट दैनिक रुपमा निस्कने गरेको धुँवा तथा ध्वनी प्रदुषणको रोकथाम र उचित व्यवस्थापन गर्न लगाई हामी निवेदक लगायत समस्त नागरिकहरुको स्वच्छ वातावरणमा स्वस्थ रहन पाउने संवैधानिक एवं मानव अधिकारको संरक्षण एवं सम्बद्र्धन गर्न सम्बद्ध निकायहरुलाई आग्रह गरेका छन् ।
 निबेदन बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले यसबारे सम्बन्धित निकायको ध्यानआकृष्ठ गर्ने बताएका छन् ।

Post a Comment

Previous Post Next Post