जनस्तरबाटै काष्ठमण्डप पुननिर्माण हुने

काठमाडौं । भुकम्पले भत्काएको ठीक दुइ वर्ष पुगेकै दिन मंगलबार काष्ठमण्डप पुननिर्माणको सार्वजनिक घोषणा गरिएको छ।
स्थानीय समुदायको अगुवाइमा अघिबढेको ‘काष्ठमण्डप पुननिर्माणको लागि अभियान’ले बसन्तपुरमा जीवित देवी कुमारीको आदेश लिनुपर्ने परम्परा पालनागर्दै सामुहिक सपथसहित यो घोषणा गरेको हो। त्यस अवसरमा कुमारीबाट आशिर्वाद लिएपछि उनलाई नै साक्षी राखेर अब यो कार्यको थालनी सुरुभएको जानकारी स्थानीय गुरुजु यज्ञमान पति बज्राचार्यले सेतोपाटीलाई दिए।
त्यस अवसरमा तिब्बती बौद्ध परम्पराको अनौठो पहिरनमा देखिएका यज्ञमानले एकहुल विशेष पहिरनमा रहेका गुरुजुहरुको नेतृत्व गर्दै विभिन्न प्रकृया अघि बढाएका थिए। बाह्रौं शताब्दीमा निर्माण भएको भनिँदै आएको काष्ठमण्डपलाई यज्ञमानको पुस्तकले आठौं शताब्दीमै निर्माण भएको भनेर दाबी गरेको थियो। यसपाला भुइँचालोपछि उत्खनन्मा भेटिएका सामग्रीहरुको परिक्षण गर्दा यज्ञमानकै भनाइ साबित हुनपुगेको छ।
काष्ठमण्डपको निर्माण ४३ पुस्ता पहिलेका आफ्नै पुर्खा लीलाबज्र बज्राचार्यले नै गराएको दाबी पनि यज्ञमानको रहँदै आएको छ। लीलाबज्र त्यतिबेला नालन्दा विश्वविद्यालयका प्राध्यापक रहेको यज्ञमान सुनाउँछन्। लीलाबज्रले नै उतिबेला बनाउन लगाएको छेवैमा रहेको सिखोँ मुः बहाः लगायतका सम्पदालाई उनी काष्ठमण्डपसमेत बनाएको प्रमाणका रुपमा देखाउँछन्। काष्ठमण्डप बनाएर काम नलाग्ने काठहरु थुपारेकै कारण यो बहालको नामाकरण हुनपुगेको थियो।
घोषणा सभा सुरुहुनुभन्दा अघि मंगलबार सबैभन्दा पहिले काष्ठमण्डप ढलेकै स्थानमा गएर त्यसमा पुरिएर दिवंगत भएका नौजना स्थानीय वासिन्दाको आत्माको शान्ति कामना गरिएको थियो। त्यसपछि बसन्तपुरस्थित कुमारीको घरमा करिब १५ मिनेट लामो ‘भावना पुजा’ गरियो।
‘एउटा अवस्थाबाट अर्को अवस्थामा जानका निम्ति यो पुजा गरिन्छ,’ बज्राचार्यले भने, ‘काम गर्दा कुनै पनि विघ्न बाधा नआओस् भनेर यसमा कुमारी र अन्य देवीदेवतालाई आव्हान गर्ने काम हुन्छ।’
पुजामा १५ जना गुरुजु र पाँच जना गुरुमालगायतको सहभागीता रहेको उनले जानकारी दिए।
त्यसपछि जीवित देवी कुमारीबाट अनुमति प्राप्त गरेका गुरुजुहरु बसन्तपुर दरवार क्षेत्रमा आयोजित घोषणा सभामा सरिक भएका थिए।
सभामा बोल्दै अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले काष्ठमण्डपको पुननिर्माण यसमा संलग्न सबैका निम्ति चूनौति र अवसर दुवै रहेको बताए।
‘यो पहिचान र आत्मसम्मानको विषय पनि हो,’ उनले थपे, ‘यसलाई बलियो रुपमा उभ्याएर हामी विश्वसामु हामी सक्षम छौं भनेर हाम्रो क्षमता पनि प्रस्तुत गर्न चाहन्छौं।’
सरकारी प्रयासले समयमै मूर्त रुप लिन नसकिरहेको बेलामा अभियानले आफ्नो मूल नारा नै ‘हाम्रो काष्ठमण्डप हामी आफैँ पुननिर्माण गर्छौं’ राखेको छ।
कार्यक्रममा आफुहरुलाई अगाडि बढ्नका निम्ति राष्ट्रिय पुननिर्माण प्राधिकरण र पुरातत्व विभागबाट पनि समर्थन प्राप्त भइसकेको जानकारी श्रेष्ठले दिए। सभामा उनले पुरातत्व विभागबाट प्राप्त भएको पत्र समेत पढेर सुनाएका थिए।
यी सबैको आधारमा आफुहरुले भोली या पर्सीदेखि नै कार्यभार अगाडि बढाउने जानकारी श्रेष्ठले दिए।
कामको सुरुवात भने काष्ठमण्डपको जग थिलथिलो नहोस् भनेर त्यसलाई छोप्ने प्रयत्नबाट थालनी हुने उनले जनाए।
‘तत्कालै उभ्याउने काम थालिहाल्न नसकेपनि वर्षायामले गर्दा काठ विग्रने संभावना देखिन्छ,’ उनले भने, ‘हाम्रो कामको सुरुवातै अझ बढी क्षति नहोस् भन्ने प्रयासबाट सुरु हुँदैछ।’
काष्ठमण्डपको भग्नावशेषबाट निकालिएको निर्माण सामग्रीहरुमध्ये प्रतिवेदन तयार गर्नेगरि अनुमति अभियानलाई पुरातत्व विभागले दिइसकेको छ।
‘जनप्रतिनिधिविहिन काठमाडौं महानगरपालिकाबाट यो पुननिर्माणको कार्यभार पुरातत्व विभागले हामीलाई स्पष्टसँग सुम्पिसकेको छ,’ श्रेष्ठले भने ‘अब हामी सरकार र विभिन्न निकायहरुसँग मिलेरै अगाडि बढ्दैछौं।’
यस किसिमको सम्पदा तथा मन्दिरहरु पुननिर्माणको क्रममा कतिपय ठाउँमा सरकारले टेण्डरका आधारमा घटाघट गराइ ठेकेदारको जिम्मा लगाउन खोजेकामा स्थानीयवासी तथा सरोकारवालाहरुले अवरोध उत्पन्न गर्नथालेका छन्।
पुरानो संरचनाको भौतिक एवं सांस्कृतिक महत्वलाई ध्यान नदिएर सस्तोमा निर्माण सम्पन्न गर्ने ठेकेदारको जिम्मा लगाउँदा उपत्यकाका सम्पन्न सम्पदाहरु महत्वहीन हुनपुग्ने त्यस्ता अवरोधकर्ताहरुले जनाउँदै आएको बेलामा काष्ठमण्डपको पुननिर्माणका लागि भने जनस्तरबाटै यस्तो अभियान थालिएको हो।
मरु सत्तलका नाममा समेत चिनिने काष्ठमण्डप यात्रीहरुको विश्रामस्थलदेखि लिएर पुजाआजा र विभिन्न परम्परा जोडिएको थलो थियो। यहाँ धेरै किसिमका समूहहरु आएर आ–आफ्ना कर्म गर्ने क्रममा केहि समयअघि नाथ सम्प्रदायका कान चिरिएका जोगीहरुले पनि यसै स्थानमा बसेर पुजापाठ गर्नेगरेको गुरुजु बज्राचार्य सम्झना गर्छन्।
मुलुककै राजधानीलाई नाम दिने यस्तो महत्वपूर्ण थलो गएको भुइँचालोमा ढलेको थियो। ठीक दुइ वर्षपहिले भुइचालो गएकै समय अर्थात् ११ बजेर ५६ मिनेटमै गुरुजु बज्राचार्यले उपस्थित सहभागीहरुलाई पुननिर्माणको सपथ गराएका थिए। नेवारी भाषामा गराइएको उक्त सपथलाई नेपाली र अंग्रेजीमा अभियानकै सदस्यहरु गोविन्द पोखरेल र सुमना श्रेष्ठले वाचन गरेका थिए।      

Post a Comment

Previous Post Next Post