बिराटनगर । बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन स्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रो पटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
छोरी जन्माए वापत पैसा पाउनका लागि आमाबाबुले केही शर्तहरु भने अनिवार्य रुपमा पालना गर्नुपर्ने महानगरपालिकाले मापदण्ड तोकेको छ । जस्तो– २० बर्ष उमेर पूरा गरेकी आमा हुनैपर्छ । गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनैपर्छ । बच्चा घरमा नभएर स्वास्थ्य संस्थामै जन्माएको हुनुपर्छ । र, आमा नेपाली नागरिक नै हुनुपर्छ ।
महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गत आर्थिक बर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३–३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ वितरण गरिसकेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिएकी छिन् ।
बिराटनगरका रोनी विश्वकर्मा र मनिष विश्वकर्मा दम्पतिले पहिलो सन्तान छोरी पाएपछि बिराटनगर महानगरपालिकाले बधाई सहित ३ हजार नगद प्राप्त गरेको थियो ।
पहिलो सन्तान जन्मेपछि लिङ्ग पहिचान गरेर गर्भ तुहाउने परम्परा विकसित भइरहेकाले त्यसलाई निरुत्साहित गर्न ३ हजार पुरस्कार प्रदान गर्ने योजना ल्याएको उनले सुनाइन् ।
छोरी बचाउ अयिभानका लागि गत आर्थिक वर्षमा महानगरपालिकाले ६ लाख रुपैयाँ छुट्याएको थियो । यो अभियानलाई महानगरले चालु आर्थिक बर्षमा पनि निरन्तरता दिएको छ । महानगरमा चालु आर्थिक बर्षका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।
साथै अब महानगरपालिकाले ‘छोरी पढाऊ’ अभियान पहिलोपल्ट सञ्चालनमा ल्याएको छ । यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर कार्कीले जानकारी दिइन् ।
महानगरपालिकाले ‘छोरी बचाऊ, छोरी पढाऊ’ योजनासँगै सरकारी विद्यालयका पढ्ने छात्राहरुका लागि सेनिटरी प्याड वितरण गर्न पनि योजना अघि सारेको छ ।
चालु आर्थिक बर्षका लागि सेनिटरी प्याड वितरण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।
from News from Nepal l Thimitimes.com https://ift.tt/2LvVdTF
إرسال تعليق