नेवारको आदिभुमिमा मात्रै किन यो ?

राेशन श्रेष्ठ
मुआव्जा दिएर घरजग्गा हडप्ने, प्रलोभनमा फसाएर घरजग्गा किन्ने, ल्याण्डपुलिङ स्याण्डपुलिङ र विकासको नाउँमा ऐतिहासिक शहरी संरचना भत्काउने – यो सबै नेवारको आदिभुमिमा मात्रै किन प्राथमिकता ? उपत्यकाबाट ५० किलोमिटर पर गयो भने सबै असरल्ल छ, कुनै विकास छैन, त्यता लगेर विकासविदहरुको विकासे योजना लागु गर्न किन खोजिन्न ? बाटो बनाउने, शहर बसाउने लगायत यावत गुलिया कुराहरुको प्रयोग त्यहाँ किन गरिदैन ?
किन कि, यी विकासबादिहरु नेवार आदिभुमिबाट नेवारलाइ बिस्थापन गर्न चाहन्छन । नेवारहरुले ऐतिहासिक तवरमा बनाएको ठुलो शहर, मझौला शहर, र उपग्रह शहरहरुको नेटवर्क, त्यसबीचमा संरक्षण गरेको कृषियोग्य भुमि, त्यहाँ विकास गरीएको परम्परागत सिचाँइ, र ब्यापारको ब्यवस्थाहरु सबै भताभुङ्ग पारेर त्यसको अस्तित्त्व समेट नामेट पार्न चाहन्छन् ।
टुरिस्टलाइ देखाउन २-४ वटा दरबार स्क्वायर बाहेक बाँकि सबै क्षेत्र आधुनिकिकरणको नाउँमा परिवर्तन गरी क्यान्सर बस्ती बनाउन चाहन्छन् । खेतियोग्य जग्गाहरु सबै कंकृट जंगल बनाउन चाहन्छन । थोरै पैसाको लोभमा जो जसले यी परिवर्तनलाइ सघाइरहेका छन्, जो जसले यी परिवर्तनहरु आत्मसात गरी रमाइरहेका छन्, तिनीहरु सबै पछुताउने छन् । मेरै जीवनकालमा पछुताएर बसेका सयौ जनालाइ देखिसकेको छु । आफन्त, साथीभाइ, टोलछिमेकमा थुप्रै उदाहरण छन् जो २ दशक अघिमात्रै आफ्नै घरआँगनमा १२ इञ्च देखि १८ इञ्च बाक्लो धानको बिस्कुन सुकाउँथे, जो दशैंताका लहलह झुलेको धानबारी हेर्दै मुस्कुराउँथे । तर आज बजारिया चामल नकिने छाक टर्दैन । पैसा भएर पनि पालिस गरेको, विषादि छरेको बेस्वादिलो चामलबाट मुक्ति पाउन नसक्ने अवस्थामा जाकिएको छ, किन कि नगर्नु पर्ने गलति गरेका‌ छन् । पछुतो त तिनलाई लाग्छ नि । तर समय बितेपछि पछुताएर बस्दैमा के हुन्छ र?
नेवारको आदिभुमिमा मात्रै किन यो ?
साम दाम दण्ड भेद – यो रावणकालीन सुत्र विपक्षीमाथि प्रहार गर्ने अचुक अस्त्र हो रे । हेर्नोस् यसको प्रयोग कसरी कसले कसको बिरुद्ध गरेको रहेछ? १ साम – शुरु शुरुमा आप्रवासीहरुले चाकडी गरे, रैथानेका मन जिते, शासकका प्रिय बने र सयौ हजारौ रोपनी बिर्ता र दानको नाउँमा रैथानेको भुमि बेदखल गरीलिए ।
२ दाम – त्यसपछि जग्गा दलालको सिण्डिकेट चलाए । पैसाको लोभ देखाए । धनी देखिने होडबाजिले समाजलाइ धमिराले खाए झै भसक्क पार्दै ‘दाम’को चर्तिकला बढाए । पैसाको चंगुलमा रैथानेहरुले धमाधम जग्गा बेचे, अहिलेको भाउभन्दा निकै सस्तो, १०० गुणा देखि १००० गुणासम्म सस्तो हुँदा पनि बेचे । किन कि तिनीहरुलाइ जानकारी नै थिएन कि त्यो जग्गाको भाउ ३० वर्षपछि १००० गुणा महँगो हुन सक्छ भनेर । दामको तुजुक देखाउन परम्परागत गुथि मातहत संरक्षित भूमि पनि रैकरमा परिणत गर्न मिल्ने कानून ल्याएर गुथियारको नीजि सम्पत्तिमा परिणत गराए र मास्न उस्काए । आफ्नो पौरखले २-दाम कमाइ गर्न नसक्ने हुत्तिहारा अबुझहरुले दामको लोभमा बाउबाजेको श्रीसम्पत्ति मासेर दामको तुजुक देखाए, मोटरसाइकल, कार चढे, भव्य भोजभतेर गरे । त्यो दामको तुजुक पछाडि लालपुर्जा फुत्रुक फुत्रुक भएर झरेको कुरामा आँखा चिम्लिए ।
३ दण्ड – त्यतिले पनि विस्थापन नभएकाहरु लक्षित गर्दै डोजर आतंक चलाइदैछ । नयाँ नयाँ अव्यवहारिक नियम तेर्साइँदैछ । बिगतका नियमहरु हठात परिवर्तन गरिँदैछ । एक परिवारको एक घरमा पुलिसको हुल लगेर एक्कासि डोजरले दुइ दनक दिएपछि त्यो परिवारको आगामि १० वर्ष डाँवाडोल हुनेछ । यस्तो खालको दण्डले बाँकि समाजमा समेत आतंक फैलाउछ र प्रभावितहरु सबैको वृत्तिविकास ध्वस्त हुन्छ । हेर्दा २ घर भत्कायो भन्ने जसो देखिए पनि यसको असर ब्यापक छ । दण्ड र दण्डको आतंकले आजको दिन रैथाने वस्तीहरु आक्रान्त छ । आस र त्रासको माहौल श्रृजना गरी विवाद र बिभाजन ल्याउने र बिस्थापित हुन नमान्नेहरुलाइ घोर दण्ड दिन आप्रवासी नियन्त्रित सरकार र सत्ता लागी परेको छ ।
४ भेद – राजनीतिक अस्थीरता, भ्रष्टाचार, अव्यवस्थिक र जथाभावि विकास भित्राएर, प्रश्रय दिएर वातावरण प्रदुषण, खाद्यान्न अभाव, र दैनिक जीवन धान्न जहाँ पनि सम्झौता गर्न बाध्य हुने स्थीति बनाएको छ । जसको कारण आगामि २५ वर्षभित्र कति ठूलो संख्यामा त्यहाँको बासिन्दाहरु असाध्य रोगले थलिने हुन कसैले अनुमान गर्न सकेका छैनन् । अहिले नै पनि उमेरले ४०-४५ कटेका ८० प्रतिशत मानिसहरु दैनिक औषधि खानु पर्ने अवस्थामा पुगिसकेका छन् । अन्तहीन धुलो धुँवा, अस्वस्थ खाना, जीवन धान्नकै लागि जताततै लतारिनु पर्ने तनावपूर्ण जीवन, र देखावटी सुखको भित्री पीडाले लगभग शतप्रतिशत रैथाने आक्रान्त भइसकेको छ । यो रोगले आप्रवासीलाई पनि छाड्दैन, तर आप्रवासी जनता र सत्ता ‘कर्मको फल भोग्नु पर्ने’ बुद्धबचन शायद बिर्सेर बसेको छ । जे होस्, रोग भित्राएरै जनतालाइ फाँसी दिन लागेको कुरा पत्तो पाए पो !!!!!
बेलामा बुद्धि नपुगेसिन, क्यार्छौ त नि? भन्न बाहेक के सकिन्छ र ?

Post a Comment

أحدث أقدم