सीके राउत पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी

सीके राउत पक्राउ, राज्य विप्लवको मुद्दा लगाउने तयारी
   

काठमाडौं, माघ २१ ।स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई बिहीबार दिउँसो जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । जनकपुर उप–महानगरपालिका–४ स्थित माछाबजारनजिकै रहेको कोठामा छापा मारी प्रहरीले उनलाई पक्राउगरेको हो ।

प्रहरी निरीक्षक रामकिशोर साहको नेतृत्वको टोलीले श्रीमती र दुई बच्चासँग बसिरहेको बेला राउतलाई पक्राउ गरेको हो र पक्राउ गरेर लगिरहेको बेला राउतले प्रहरीले आफूलाई छापामार शैलीमा पक्राउ गरेको सञ्चारकर्मीलाई बताएका थिए ।सप्तरी स्थायी घर भएका राउत एक महिनादेखि जनकपुरमा डेरा लिएर बस्दै आएका थिए ।

गत ५ माघमा सिराहाको लाहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । उनको नाममा जिल्ला प्रहरी कार्यालय सिराहाले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । उनलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जनाएका छन् ।  समाचार आजको राजधानीमा छापिएको छ ।

राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, उनी धरौटीमा छुटेका थिए । राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा उल्लिखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुन्छ । उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तीमा दुई वर्षसम्म कैद सजाय हुन्छ । राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।

यता डा. राउत पक्राउ परेपछि उनका समर्थकले जनकपुरको माछा बजारमा जुलुस प्रदर्शन गरेका छन् । जुलुसको क्रममा समर्थकले राउतलाई पक्राउ गरी मधेसीलाई दबाउन खोजेको बताएका थिए ।

उनका समर्थकले बिहीबार पनि जनकपुरमा प्रदर्शन गर्ने बताएका छन् । यता राउतकी श्रीमती सोनी सिन्धु रानीले आफ्नो श्रीमान्लाई विनासर्त रिहा गर्न माग गरेकी छन् ।

प्रहरीले राउतको कोठाबाट भिडियो क्यामरा, भिडियो इडिटर क्यामरा, स्टाम्प, पेनड्राइभ, स्वराज लेखिएको किताब, १० लाख मधेसीलाई जागिर दिने फाराम, स्वतन्त्र मधेसको फारामलगायत सामग्री बरामद गरेको छ ।

Post a Comment

Previous Post Next Post