भक्तपुर, २८ वैशाख । पहिलो चरणको बैशाख ३१ को निर्वाचनका लागि बिहीबार ‐आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिबाट सुरु हुने यो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसार लगायतका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत यो नियम लागू हुने भक्तपुर स्थित निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्द देखि १ लाख सम्म जरिवाना हुन सक्ने कानूनी प्रावधान रहेको छ । मौन अवधि उल्लंघन गरे÷नगरेको कार्यालयले अनुगमन गरी कारबाही गर्ने भक्तपुरका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मौन अवधि सुरु भएपछि चुनाव प्रचारप्रसार लगायतका राजनीतिक गतिविधि गर्न नपाइने भन्दै कार्यालयले बुधबार दलहरूलाई सचेतसमेत गराएको जनाएको छ । मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म चुनावी प्रचारप्रसार अन्तर्गत सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न नपाइने बताईएको छ । आज मध्यरातसम्म दलहरूले आफ्नो वा उमेदवारको प्रचारप्रसार गर्न पाउने तर मौन अवधि सुरु भएपछि नपाउने प्रावधान छ । ‘बिहीबार साझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउँछन् तर मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै पाइँदैन ।
मौन अवधिभित्र आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद २ को नियम ५ घ ले उमेदवारले ५ प्रकारका काम गर्न निषेध गरेको प्रस्ट पारेको छ । यस्तै, स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नहुने उल्लेख छ । स्थानीय तहको पहिलो चरणअन्तर्गतको निर्वाचन ३१ वैशाखमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने भन्दै निर्वाचनको दिन मतदान सम्पन्न नहुँदा सम्म मौन अवधि रहने छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदै छ ।
साथै मतदाताले मतदान गर्नको लागि आवश्यक मतदाता परिचय पत्र सम्वन्धित मतदान केन्द्रबाट आज बिहान ७ः३० देखि बेलुका ७ बजे सम्म ३० गते भित्र सबैले लिईसक्नु पर्ने पनि निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
आचारसंहिताको परिच्छेद २ को नियम ५ घ अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार ‘उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ,’ भनिएको छ ।
यस्तै, एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोय गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख गरिएको राईले जानकारी दिए ।

Post a Comment