मध्यपुरथिमि नगरको समृद्धिका लागि उम्मेदवार ः अष्ट कबें



मध्यपुर थिमि । मध्यपुर थिमिको  राजनीतिक बृत्तमा युवा पुस्ताका लागि अष्ट कुमार कबें चर्चित नाम हो । मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसको पूर्व नगर सभापति समेत बनिसकेका कबें नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी पनि हुन् । उनले स्थानीय तहमा युवा, जेष्ठ नागरिक लगायत सामाजिक क्षेत्रमा समेत लोकप्रिय र चर्चित नेताको रुपमा रहेका छन् । कबें आगामी बैशाख ३१ गते हुनेपहिलो चरणको स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाको प्रमुख पद (मेयर) का उम्मेदवार हुन् । उनको मेयर पदको उम्मेदवारीले यस स्थानीय तहमा नगरको समग्र विकास र समृद्धिको आशा र अपेक्षा समेत गरेका छन् । उनै चर्चित युवा नेता कबेंसँग नगरको निर्वाचन र यहाँको विकासका बारेमा गरेको संक्षिप्ते कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरेका छौं ।
मध्यपुर थिमिमा नगर निर्वाचनको अबस्था कस्तो देख्नुहुन्छ ?
– मध्यपुर थिमि क्षेत्र नेपाली काँग्रेसको बलियो पकड रहेको क्षेत्र हो । यो नगरमा रहेका सबै वडामा काँग्रेसको पकड बलियो भएकै कारण आगामी निर्वाचनमा पनि काँग्रेसको नेतृत्व निश्चित छ । यहाँको पुरानोका साथै नयाँबस्ती समेत नेपाली काँग्रेसकै शुभेच्छुक भएको पाईएको छ । जनमतका आधारमा हिजो पनि काँग्रेस अगाडि थियो अहिलेपनि अगाडि नै छ । त्यसैले मध्यपुर थिमिमा निर्वाचनको अबस्था पनि राम्रो छ ।
नगर प्रमुख पदका उम्मेदवारको टिकट पाउँदाको अवस्थालाई कसरी हेर्नु हुन्छ ?
– यस बिषयमा हरेक दिन पार्टी बृत्तमा बिभिन्न छलफल र बहस भैसके पछि पार्टीले म नगर सभापति हुँदाको अवस्थामा मैले नगरको समूचित बिकासको लागि गरेको कार्य र मध्यपुर नगरपालिका क्षेत्रमा नेपाली कांग्रेसको संगठनलाई सुढृद बनााउन मैले खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै पार्टीले यो जिम्मेवारी मेरो काँधमा दिएको हुँदा, उक्त जिम्मेवारी पूरा इमान्दारीका साथ निभाउने र जनता प्रति उत्तरदायित्व रहँदै नगरको बिकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । साथै पार्टीको आफनै संरचना छ त्यसै अनुसार अघि बढ्ने हो । यस क्रममा पार्टीले पनि जसले काँग्रेसमा त्याग गरेको छ । संगठन विस्तारका लागि लागि परेको छ । जनमत कोसँग छ सबै कुरालाई मध्यनजर गरेर निर्वाचन हार्नेलाई होईन जित्ने व्यक्तिको छनौट गरेको र्छ । काँग्रेसमा गरेको मेरो लगानी र युवाको चाहनाका साथै जनमतका आधारमा पनि मलाई यो जिम्मेवारी दिएको हो । सबै साथीहरुलाई मेरो नेतृत्वमा निर्वाचनमा काँग्रेस जान्छ भन्ने विश्वास छ ।
तपाईले नै टिकट पाउनुको आधारहरु के के छन् ?
– पहिलो कुरा त म युवा हो । मेरो साथमा मध्यपुरमा ठूलो युवा शक्ति छ । यति मात्रै नभई म कुशल सामाजिक मान्छे भएकोले पनि आम जनमतले मलाई साथ दिएको छ र दिन्छ पनि । म अहिले होईन बच्चादेखि काँग्रेसकै कार्यकर्ता भएकोले अरुको तुलनामा मेरो पार्टीमा लगानी पनि बढी छ । साथै मसँग मध्यपुरलाई देशकै नमूना नगर निर्माणका लागि महत्वपूर्ण गुरुयोजना पनि छ । कार्यकर्तादेखि नगरको सभापति र  महाधिवेशन प्रतिनिधीसम्म हुँदा मैले गरेको अनुभवका आधारमा पनि अहिले नगरप्रमुखका लागि म आफूलाई योग्य छु भन्ने छ । यी विविध कारणले गर्दा नै अन्तत पार्टीले मलाई उम्मेवार बनाएको हो
तपाई नगर प्रमुख हुनुभयो भने तपाईका योजना के छन् ?

– म नगर प्रमुख भएको अबस्थामा सबैभन्दा पहिला त मध्यपुर थिमि नगर क्षेत्रलाई सफा, स्वच्छ र हराभरा बनाउँछु । हनुमन्ते, मनोहरा खोलाको दुर्गन्धलाई व्यवस्थापन गर्नु मेरो अर्को योजना हो । यसका लागि करिडोर नै निर्माण गरेर दिर्घकालिन फोहोर व्यवस्थापनका लागि प्रक्रिया अघि बढाउछु । यहाँको खेलकुद, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासका साथै यी क्षेत्रको समृद्धि र सडक विस्तार तथा भएका सडकको स्तरोन्नतीका लागि योजना बनाएको छु । यहाँका किसानका समस्या समाधानका लागि पहल गर्छु । खेतीयोग्य जमिनमा सिचाईदेखि मल, विउविजन लगायतका कुराको व्यवस्थापनमा जोड दिने योजना छ । आफ्नो कार्यकालमा यी सबै कामहरु पुरा गर्ने प्रतिबद्धता पनि जनाउँछु ।
अन्त्यमा केही भन्नुछ ?
– पार्टीले विश्वास गरेर मलाई टिकट दिएपछि र जनताले मन जितेर मतदान गरी जिताएपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रको समृद्धिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि हटदैन् । कि त्यो नगरको समृद्धि र विकासका लागि होस् । म युवा र जाँगरिलो भएको कारण पनि यहाँको समृद्धिका लागि नेपाली काँग्रेसलाई भोट गरिदिनु हुन सबै मतदातामा अनुरोध गर्छु । साथै यसमा सहयोगका लागि सबै शुभेच्छुकहरुमा अपिल पनि गर्न चाहन्छु ।

Post a Comment

Previous Post Next Post