एमाले देउवालाई प्रधानमन्त्री बन्न नदिने रणनीतिमा

काठमाडौं । एमालेले देउवाको बिरुद्ध बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले अन्ततः प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पदका लागि संसद सचिवालयले गरेको उम्मेदवारी आह्वानलाई एमालेले बहिस्कार गरेको छ । प्रधानमन्त्रीमा देउवाको मात्रै उम्मेदवारी परेको छ । आइतबार संसदमा प्रधानमन्त्री चयन गर्ने कार्यसूचि छ । तर, एमालेले संसदको अवरोध खोलेको छैन । संसदको अवरोध जारी राख्ने र मतदानको प्रक्रियामा समेत भाग नलिले उसले जनाएको छ । ‘प्रधानमन्त्रीको चयन प्रक्रियामै हामीले असहमति जनाएका छौं,’ एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले  भने, ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले यो त्रुटीपूर्ण छ, यसमा एमाले सहभागी हुँदैन ।’

प्रधानमन्त्री चयन गर्ने कार्यसूची रहेको भए पनि एमालेले संसदको अवरोध जारी राख्ने र देउवालाई प्रधानमन्त्री बन्न नदिने रणनीति अघि सारेको छ । एमालेले राष्ट्रपतिको पत्र संसदमा पढेपछि मात्रै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाइनुपर्ने बताएको छ ।  तर, उसले अवरोध जारी राखेकै कारण संसदमा राष्ट्रपतिको पत्र पढ्ने स्थिति छैन ।

‘आफैं संसदमा पत्र पढ्न नदिने अनि आफैं पत्र नपढी प्रक्रिया अघि बढाउनुहुँदैन भन्ने ? यो त अलि सुहाएन नि ?’ संचारकर्मीको प्रश्नमा एमाले नेता शंकर पोखरेलले भने  ‘संसद सुचारु हुने वातावरण त बनाउनुपर्‍यो नि ।’संसद चल्ने वातावरण कसरी बन्छ ? यो प्रश्नमा पोखरेलको जवाफ छ,’ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया र विधिसम्मत ढंगबाट हुनुपर्छ, राष्ट्रपतिको पत्र संसदलाई जानकारी गराएर मात्रै प्रक्रिया अघि बढ्छ ।’

तर, एमालेले भरतरपुरमा पुनः मतगणना हुनुपर्छ भन्ने मागलाई लिएर समेत संसद अवरोध गरेको हो । निर्वाचन आयोगको विषयलाई लिएर संसद किन अवरुद्ध पारेको ? अर्को प्रश्नमा एमाले नेता पोखरेलले भने, ‘निर्वाचन आयोगको विषय संसदमा छलफलै गर्न हुँदैन भन्ने विषय होइन, यसबारे संसदमा छलफल हुन सक्छ ।’

संसदमा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्न लागेका शेरबहादुर देउवाका लागि एमालेको अवरोधले सत्ता गमन केही दिन पछि सार्ने संकेत देखिएको छ ।

एमालेले भरतपुरमा मतगणनाको माग गर्दै आइरहेकोमा निर्वाचन आयोगले शनिबार पुनः मतदान गराउने निर्णय गरेको छ, जसले एमालेलाई थप बिच्काएको छ । र, अब भरतपुरकै कारणले एमालेले संसदको अवरोधलाई अरु बढाउने र देउवालाई सत्तारोहणमा अवरोध पुर्‍याउने संकेत गरेको छ ।

निर्वाचन आयोगले ९० वटा मतपत्र बदर भएको निश्कर्ष निकालिसकेका अवस्थामा कुनै मध्यमार्गी बाटो अपनाउन नसक्दा परिस्थिति झनै जटिलतातर्फ उन्मुख भएको छ । भरतपुरमा पुनः मतदान गराउने आयोगको निर्णय आएलगतै एमालेले त्यसको प्रतिकार गर्ने निर्णय गरेको छ ।

Post a Comment

Previous Post Next Post