एमालेका युवा नेता एवम् मध्यपुर थिमि नगरपालिकाका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठ बाजागाजाका साथ घरदैलो अभियानमा लागि परेका छन् । जसको कारण यहाँका मतदातामा उत्साह थपिएको छ । केही समय पहिले सम्म निर्वाचन हुने नहुनेमा आशंका व्याप्त रहेपनि अब भने निर्वाचन हुनेमा स्थानीय ढुक्क बनेका छन् ।अगाडि नायखीं बाजा, त्यसपछि धां बाजा र बीचमा बाँसुरी बाजा बजाउँदै समर्थकहरुको ¥र्यालीका साथ मध्यपुर थिमिको बालकुमारी, चपाचो, दुईपोखरी, बाहाखा बजार, नगदेश, बोडे, नगरपालिका रोड हुँदै नगरपालिकाको टोलटोलमा पुगेको उम्मेदवारको टोलीलाई मतदाताले बीचबीचमा स्वागत गरेका थिए ।
मध्यपुरका बासिन्दा उत्साहित हुँदै १८ वर्ष पछि भए पनि स्थानीय नेतालाई मतदान गर्न पाएकामा खुसी व्यक्त गर्दै उम्मेदवारलाई अबिर, माला र खादा लगाएर स्वागत गर्दै सगुन दिएर शुभकामना व्यक्त गरेका थिए ।थिमिका नवीनचन्द्र श्रेष्ठले १८ वर्षपछि यसरी घरदैलोमा स्थानीय नेताहरु भोट माग्न आउँदा उत्साहित बनाएको बताउँदै यसवर्ष युवा उम्मेदवारलाई मतदान गर्ने बताए ।
एमालेका प्रमुखका उम्मेदवार श्रेष्ठ र नेमकिपाका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका केदार खड्काले संयुक्त प्यानल बनाएकाले चुनावी माहोलमा उत्तिकै रौनक थपिएको थियो । टोलटोलमा महिला, ज्येष्ठ नागरिक र स्थानीयवासीले भव्य स्वागत गर्दा महोत्सवमय भएको थियो ।
त्यसैगरी नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार अष्टकुमार कवेँ र उपमेयरका उम्मेदवार अञ्जना मधीकर्मीले पनि मध्यपुर थिमिमा घरदैलो गर्दा ७० वर्षका वृद्धवृद्धादेखि युवायुवतीले समेत भव्य स्वागत गरेका थिए । नेपाली काँग्रेसले पनि नगदेश, बोडे, मगर गाउँ, धुन्चेपाखा, बोडे लगायतका क्षेत्रमा घरदैलो अभियान गरेर भोट मागेका थिए ।
मध्यपुरथिमिमा कहिले काँग्रेस अगाडि त कहिले एमाले अगाडि हुँदै एउटै क्षेत्रमा एकैदिन घरदैलो गरेपछि मध्यपुरका बासिन्दामा थप रौनक छाएको थियो ।
बोडेका रामचन्द्र प्रजापतिले गाउँकै मानिस फरकफरक पार्टीबाट भोट माग्न घरघरमा आउँदा रमाइलो लागेको बताउँदै यसले चुनावी उत्साह थपेको बताए । जुन पार्टीका नेताले जिते पनि मध्यपुरको विकास हुन्छ भन्ने विश्वास लिएको उनले बताए ।
मध्यपुरथिमिमा नयाँ शक्तिबाट प्रमुखमा उम्मेदवारी दिएका ज्ञानराम श्रेष्ठले पनि घरदैलो अभियान सञ्चालन गर्दै मत मागेका थिए । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार प्रतिमा श्रेष्ठ र उपप्रमुख सुचित्रा श्रेष्ठले पनि घरदैलो अभियान सञ्चालन गरेर भोट मागेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलौ कार्यक्रमलाई तिव्रता दिएको छ । राप्रपाका उपप्रमख पदका उम्मेदवार नरगोविन्द र्शखदेबका अनुसार मध्यपुर थिमि नगरको समग्र बिकासको लागि राप्रपाका उम्मेदवारलाई जिताउन प्रचार अभियानका क्रममा घरदैलोमा गई प्रत्यक्ष रुपमा जनतासँगको सामिप्यताले स्थानीय तहको समस्या पहिचान हुने बताउनु भयो । त्यस्तै अभियानमा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति र संघीय समाजवादी फोरमले पनि घरदैलौ कार्यक्रम मार्फत भोट माग्ने कार्यलाइ तिव्रता दिएको छ ।




Post a Comment