न्ह्यज्या खलःद्धारा जनप्रतिनिधिलाई सम्मान तथा बधाई

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिका भित्रको ढिलासुस्ती, कर्मचारीतन्त्र तथा भ्रष्टाचारलाई निर्मूल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
न्ह्यज्या खलःले आयोजना गरेको गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानिय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिने कार्यक्रममा उहाँले नगरको विध्यमान समस्या निदान गर्ने जनाएका हुन् । “खानेपानीको समस्या, फोहर व्यवस्थापन, नगरपालिका तथा वडा कार्यालयमा हाल नागरिकले व्यहोर्नु परेको समस्यालाई हामी छोटो अवधिमा मै निदान गर्छौं ।” मेयर श्रेष्ठको भनाई थियो । यस अघि उहाँको अध्यक्षतामा बसेको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले सामाजिक सुरक्षा भत्ता घरघर मै पु¥याउने देखि अन्य व्यवस्थापनलाई चुष्ट बनाउने घोषणा गरिसकेको छ । अल्पकालीन तथा दीर्घकालीन योजना लागु गर्दै नगरलाई उत्कृष्ट बनाउने उहाँको भनाई थियो । त्यस्तै ७ नम्बर वडाबाट निर्वाचित वडाध्यक्ष स्वतन्त्र उम्मेदवार कृष्णकुमार प्रजापतिले समेत नगर विकासको लागि समर्पित हुने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णमोहन जोशीले नवनिर्वाचित जनप्रतिनिधिहरुको सफल कार्यकालको लागि शुभकामना दिँदै पछिल्लो समय नगरमा वाम तालमेल सफल भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टी तथा नेकपा एमालेको तालमेलको आधारमा मेयर तथा कतिपय वडाध्यक्ष पदमा अत्यधिक बहुमत आएको उहाँको भनाई थियो । विगतमा वामपन्थीहरुको एकता अभावले नगरभित्र भ्रष्टाचार, ढिलासुस्ती तथा कर्मचारीतन्त्र मौलाएकोमा अब उप्रान्त त्यस्तो समस्या नहुनेप्रति उहाँले विश्वास व्यक्त गर्नुभयो । हुन पनि पहिलो चरण अन्तर्गतको स्थानिय तह निर्वाचनमा नेमकिपा, माओवादी केन्द्र तथा नेकपा एमालेबीच लिखित वाम तालमेलको आधारमा सम्झौता भएको थियो । वाम तालमेलको लागि न्ह्यज्या खलःबाट श्यामकृष्ण जगुलु श्रेष्ठ तथा कृष्णमोहन जोशी प्रतिनिधि थिए । अन्तिम समयमा आएर माओवादी केन्द्र सो सम्झौताबाट बाहिरिएको थियो । तालमेलको आधारले अंकगणितीय जोडघटाउ गरी बनाएको सम्झौतालाई लत्याउने पार्टीलाई आम नागरिकले सबक सिकाएको जोशीको भनाई थियो । सम्झौता कार्यान्वयन नगरेकोमा निराश भएका मतदाताले माओवादी केन्द्रलाई मतदान नगरेको निवर्तमान अध्यक्ष जोशीले दाबी गरे ।
त्यस्तै, पूर्व अध्यक्ष दुर्गामोहन श्रेष्ठले पनि वाम तालमेलको औचित्य तथा सोही आधारमा प्राप्त सफलताको विषयमा प्रष्ट पार्नुभयो । प्रगतिशील तथा वामपन्थी विचारधाराका नवनिर्वाचित जन प्रतिनिधिहरुका लागि आवश्यकता अनुरुप आफुले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
आधा शताब्दीको इतिहास बोकेको संस्था, न्ह्यज्या खलःले गणतन्त्र दिवसको सन्दर्भमा नौलोज्योती अंग्रेजी स्कूलमा एक भव्य समारोहकाबीच नवनिर्वाचित नगर प्रमूख, वडाध्यक्ष, सदस्य लगायतलाई बधाई तथा सफल कार्यकालको लागि भिंतुना दिएको थियो । सचिव सुरेन्द्र किलंनः श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा न्ह्यज्या खलःका अध्यक्ष सुशीला श्रेष्ठले सभापतित्व ग्रहण गरे । कार्यक्रममा सुशील जोशीले स्वागत मन्तव्य दिनुभएको थियो ।

Post a Comment

Previous Post Next Post